पथरीशनिश्चरेमा अपाङ्गता रोकथाम पुनस्र्थापना कार्यक्रम - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

पथरीशनिश्चरेमा अपाङ्गता रोकथाम पुनस्र्थापना कार्यक्रम

पथरी शनिश्चरे, १९ फागुन
मोरङको पथरी शनिश्चरे नगरमा अपाङ्गता रोकथाम पुनस्र्थापना कार्यक्रम सञ्चालनका लागि आज योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालय, पथरीशनिश्चरे नगरपालिका र करुणा फाउण्डेशनको संयुक्त सहकार्यमा ३ वर्षे कार्यक्रमका लागि २ करोड ९ लाख ५३ हजार ३ सय रुपैयाँको कार्यक्रम बनाइएको छ ।

आजसम्म अपाङ्गता जन्मिएकाहरुको व्यवस्थापन तथा पुनस्र्थापना र अव अपाङ्गता जन्मिन नै नदिने स्वास्थ्य सचेतना सहितको सो कार्यक्रमका बारेमा सरोकारवाला पक्षसँग छलफल भएको छ । नगर प्रमुख दिलीपकुमार राई सहित वडाध्यक्ष, स्वास्थ्यकर्मी लगायतको सहभागितामा कार्यक्रम भएको छ ।
नगर प्रमुख राईले नगरको पञ्चायत माविमा प्रदेशकै अपाङ्गता भएकाहरुको आवासीय विद्यालयका लागि प्रदेश सरकारबाट हाल १ करोड रुपैयाँ विनियोजन भएको जानकारी गराउनु भयो ।

अपाङ्गता पुनस्र्थापना सहजकर्ताका रुपमा ३ जना महिला स्वास्थ्य प्राविधिक नियुक्त गरी कार्यक्रम अघि बढाउने प्रक्रिया थालिएको छ । सहजकर्ताहरुले नगरमा सर्वेक्षण गरी ८ सय २४ जना व्यक्ति अपाङ्गता भएको तथ्यांक फेला पारेको कार्यक्रममा जानकारी गराइएको छ ।
कार्यक्रममा, करुणा फाउण्डेशनकी सबुन गुरुङ र नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले सहजिकरण गर्नुभयो ।

सम्बन्धित खवर