पथरीशनिश्चरे नगरपालिकाले किशोरीहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरण गर्ने ! - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

पथरीशनिश्चरे नगरपालिकाले किशोरीहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरण गर्ने !

पथरी शनिश्चरे, ६ फागुन
मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका सवै सामुदायिक विद्यालयका किशोरीहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइने भएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा गठित स्थानीयस्तरीय सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समितिको आजको बैठकले तत्काल सेनेटरी प्याड खरिद गरी वितरणको प्रक्रिया थाल्न कार्यपालिकालाई जानकारी गराउने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को संघीय सरकारमार्फत अन्तर सरकारी वित्तीय हस्तान्तरण कार्यक्रमको २९ लाख ९८ हजार बजेटबाट सेनेटरी प्याड वितरण गरिने नगरका उपसचिव शालिग्राम काफ्लेले जनाउनु भयो । सो बजेटले नगरका सामुदायिक विद्यालयका कक्षा ५ देखिमाथिका कुल ३ हजार ४ सय ७७ किशोरीका लागि सहयोग पुर्याइने छ ।

सार्वजनिक खरिद ऐन अनुरुप प्याड खरिद गर्न कार्यपालिकामा निर्णय पेश गरी कार्यक्रम अघि बढाइने समितिको योजना रहेको संयोजक वास्तोलाले जनाइन् । ‘पुरुषहरुका लागि जँही तँही निःशुल्क कण्डम राखिदिने परिपाटी थियो, किशोरीलाई महिनाबारी भएको बेला ज्यादै मार परेको यो विषयमा पनि ढीलै भएपनि कार्यक्रम आएकोमा ज्यादै खुसी लागेको छ ।’– उहाँले भन्नुभयो ।

यस अघि बनेको सो समितिमा कार्यपालिकाकी महिला सदस्य मायामेगी गुरुङ, स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुरेन्द्रप्रसाद शाह, महिला तथा बालबालिका शाखाकी विमला ढकाल सदस्य रहनु भएको छ । त्यसैगरी, विद्यालय सम्पर्क व्यक्तिहरुमध्येबाट पञ्चायत माविकी नर्सिङ शिक्षक ममता बराइली, हिरक आधारभूतबाट शिक्षिका अम्बिका ढकाल न्यौपाने सदस्य र शिक्षा शाखा अधिकृत नवीन खुलाल सदस्य सचिव चुनिनु भएको छ।

सम्बन्धित खवर