राष्ट्रपति रनिङशिल्डमा पञ्चायतको ८ स्वर्ण - Khabar Nepali
  • आइतबार, फागुन ११, २०७६

राष्ट्रपति रनिङशिल्डमा पञ्चायतको ८ स्वर्ण

पथरी शनिश्चरे, २९ माघ
मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले दोस्रो पटक सञ्चालन गरेको स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा ८ स्वर्ण पदक सहित पञ्चायत माविले उपाधि हात पारेको छ ।

१ नम्वर वडाको पञ्चायत माविको खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पञ्चायतले ८ स्वर्ण र ८ रजत पदक सहित रनिङशिल्डको उपाधि प्राप्त गरेको छ । प्रतियोगितामा ९ नम्वर वडाको सिंहवाहिनी माविले ७ स्वर्ण र ३ रजत प्राप्त गरी दोस्रो र ३ नम्वरको जनता मावि ३ स्वर्ण र ७ रजत सहित तेस्रो भएको छ । सिंहवाहिनीले गत वर्ष उपाधि जितेको थियो ।

पञ्चायतकातर्फबाट ३ हजार मिटर छात्र दौडमा साइन राई, १ सय मिटर छात्र दौडमा राजु श्रेष्ठ, ८ सय मिटर छात्र दौडमा चित्रबहादुर मगर, छात्रा सटपुटमा पायल राईबाट तथा १ सय मिटर छात्र रिले दौड, छात्र भलिबल, छात्र कबड्डी सहितमा स्वर्ण पदक प्राप्त भएको छ । सिंहवाहिनीकातर्फबाट ३ हजार मिटर छात्रा दौडमा दिलकुमारी खत्री, छात्रा लङजम्प र १५ सय मिटर छात्रा दौडमा पविना मगर, ८ सय मिटर छात्रा दौडमा देवी पराजुलीबाट तथा ४ सय मिटर छात्र र छात्रा रिले दौड सहितमा स्वर्ण स्थान हाँसिल भएको छ ।

माघ २७ देखि सुरु भइ ३ दिनसम्म सञ्चालित प्रतियोगिताको समापनका अवसरमा प्रमुख अतिथि १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देनले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै आगामी वर्षहरुमा अझ व्यवस्थित रुपले प्रतियोगिता सञ्चालन गर्दै जान शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा प्रतियोगिता सञ्चालनमा विशेष सहयोग पुर्याउने विद्यालय तथा शिक्षकहरुलाई प्रसंशापत्र समेत प्रदान गरिएको छ । प्रतियोगितामा नगरका सामुदायिक तथा संस्थागत गरी १६ विद्यालयको सहभागिता रहेको छ । सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुको भेलाले प्रतियोगिताको व्यवस्थापन तथा निर्देशनका लागि नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा समिति गठन गरेको थियो । साथै भेलाले प्रतियोगिता सञ्चालनका लागि खेलकुद सञ्चालन उपसमिति र विवाद समाधान उपसमिति समेत गठन गरेको थियो ।

सम्बन्धित खवर