नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ - नारायणकाजी श्रेष्ठ - Khabar Nepali
  • मङ्गलबार, फागुन १३, २०७६

नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ – नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहनु भएका श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्ने भन्दा सक्षम नेतालाई बनाउने बताउनुभयो ।

“एमाले र माओवादी भन्ने इतिहास हो”, श्रेष्ठले भन्नुभयो, “नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ, भागबन्डामा नेकपा लाग्दैन ।

नेता श्रेष्ठले पत्रकारहरुको जवाफ दिँदै पार्टी एकीकरण भइसकेपछि पनि पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा जायज नभएको प्रस्ट पार्नुभएको थियो । उहाँले उपसभामुखको राजीनामा आउनेमा नेकपा ढुक्क रहेको बताउँदै संसद्को गतिरोधले छिट्टै निकास पाउने बताउनुभएको छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख पाउनका लागि नेकपाले उपसभामुखलाई राजीनामा दिलाउने उहाँले विश्वस्त पार्नुभयो ।

राष्ट्रियसभाको उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले पार्टीको चाहनाअनुसार नै आफूले राष्ट्रियसभामा उम्मेदवार दिएको बताउनुभयो । राष्ट्रियसभाको निर्वाचनको प्रचारप्रसारका लागि गण्डकी प्रदेशबाट उम्मेदवार बन्नुभएका नेता श्रेष्ठ र भगवती न्यौपाने बागलुङ आउनुभएको हो ।

सम्बन्धित खवर