" खुुशीको एक थुँगा !" - Khabar Nepali
  • बुधबार, जेठ २१, २०७७

” खुुशीको एक थुँगा !”

हामीले उति ध्यान नदिएका ससाना बोटबिरुवा, जीवजन्तु र प्रकृति मोक्ष–खोजमा सहयोगी हुादा रहेछन् । आत्मखोजबाट भागेर यन्त्रवत जीवन बाँचेका हामीलाई चेतनाको झिल्कासहित झकझक्याउँछ, हर्मन हेस्सेको सिद्धार्थले । यसले अन्तर्मनको यात्राको महत्व मात्र होइन, आजको भौतिकवादी दुनियाँसमेत बुझाउँछ।

टेलिभिजन र चिडियाघरमा हेरेर बाघलाई बुझ्न सक्दैनौँ । त्यहाँ अनेक प्रविधि र तालिमले उसले बाघत्व गुमाइसकेको हुन सक्छ । असली बाघ हेर्न त जंगलमै जानुपर्ने हुन्छ । त्यस्तै सच्चा ज्ञान लिन चीज र घटनासँग आफैँले साक्षात्कार गर्नुपर्छ भन्ने बोध गराउँछ, सिद्धार्थले । आध्यात्मिक भोकले १५ वर्षमा घर छाडेर भागेकाले मेरै जीवनयात्रा पनि लगभग सिद्धार्थकै जस्तो लाग्छ । त्यो आध्यात्मिक भोकमा कला, सिनेमा मिसिएको थियो सायद । लामो समयपछि मात्र म घरसँग जोडिएँ ।

कथनपद्धति र भाषासमेत सहज भएको यो किताबलाई धेरैले भारी दर्शन ठानिदिन्छन् तर यसले बालबालिकालाई समेत जीवनका अनेक आयामलाई नजिकबाट हेर्न प्रेरित गर्छ । आफूतिर फर्कन रुचाउने मजस्तो एकान्तप्रेमीलाई सिद्धार्थले प्रकृतिमा रहेको भौतिक र आध्यात्मिक ऊर्जा ग्रहण गर्न बल दिन्छ, सधैँ ।

श्रीमद्भागवत गीता सुरु–सुरुमा त्यति बुझिनँ । विदेश यात्रामा निस्कँदा प्रायः झोलामा रहने यो किताबमा लागेको धार्मिक लेपमा मलाई उति सरोकार छैन । यसभित्रका साहित्यिक पक्ष, दर्शन र पात्र अन्य कृतिभन्दा माथि छन् । सामाजिक–नैतिक मूल्य–मान्यतालाई यस किताबले काव्यात्मक ढंगले बताउँछ । खासगरी कृष्ण र अर्जुनको संवादमार्फत जीवनका मसिना घटना, समयको महफ्व र कर्मशील पक्षबारे अवगत गराउँछ ।

हुन त मानवीय कोणबाट हेर्दा युद्ध प्रीतिकर हुन सक्दैन । तर महाभारतकालीन युद्ध कृष्णले अगुवाइ नगरेका भए कुनै बेला कसै न कसैले गर्थ्यो । त्यो कुनै संयोग मात्रै थिएन । बरु सचेत रुपमा गरिएको युद्धमा असरको लेखाजोखा गरेर क्षतिको दायरा कम भयो होला । पागलपनमा अन्धाधुन्ध गरिएको थिएन त्यो । कतिपय पात्रले आत्मसम्मानसहितको मृत्युलाई सहर्ष स्वीकारेका पनि छन् ।

पूर्वीय साहित्यमा रहेको ‘स्टोरी टेलिङ’ लाई सिनेमाको कथानक संरचना र कथनपद्धतिमा ल्याउन सकिन्छ कि भन्ने कोणबाट समेत यी रचनालाई पढ्न रुचाउँछु । खासगरी श्रीमद्भागवत गीताको वर्णनशैली वरपर नै हाम्रो कला–साहित्य घुमेको छ । कहिलेकाहीँ यसको पठनले पुरानो वर्णन ढाँचाको धङधङीबाट उत्रन पनि सहयोग गर्ला । रोचक पक्ष– सार उही भए पनि फरक–फरक भूगोलमा एउटै किताब पढ्दा तरंगसमेत भिन्नाभिन्नै पाएँ ।

अमेरिकी संविधानमाथि शोध लेखेको मैले पहिलो पटक न्युयोर्कमा गीता पढ्दा मनमा अर्कै खालको छाल उठ्यो । अमेरिकी साम्राज्यवाद र पूर्वीय साहित्यमा उल्लिखित युद्धको तौरतरिकालाई तुलना गर्दै पढ्नुको बौद्धिक आनन्द उठाएँ । एकै व्यक्ति र घटनालाई पनि फरक स्थानबाट हेर्दा एक अर्कै–अर्कै रुपमा देख्ने अनुभव लिनु सिनेकर्मीको नाताले सकारात्मक रह्यो ।

ससाना कमिक्सबाहेक मैले पहिलो पटक पढेको अंग्रेजी किताब हो– द ओल्ड म्यान एन्ड द सी । यस किताबसँग मेरो भावनात्मक सम्बन्ध छ । दार्जिलिङबाट आएका शिक्षकको हातमा यो किताब देखेपछि पढ्न मागेँ तर उनले पत्याएनन् । खासमा ‘सी’ शब्दले मलाई खिचेको थियो । हिमाली भेगमा जन्मिहुर्केको किशोरमा समुद्री आकर्षण अगाध थियो । त्यही एउटा किताबका खातिर उनै शिक्षककहाँ ‘होम ट्युसन’ लिन गएँ र चोरिछाडेँ । एकै रातमा पढिभ्याएर भोलिपल्ट मैले सुटुक्क यथास्थानमा राखिदिएँ पनि । पछि शिक्षक दार्जिलिङ फर्कने बेला मैले इमानदारीपूर्वक चोरी कथा सुनाएँ । भावुक हुँदै उनले द ओल्डम्यान एन्ड द सीलगायत केही अंग्रेजी किताब दिएर गए ।

८४ दिन लामो पर्खाइ, पानीसँग सान्निध्यजस्ता कुराले मलाई कसोकसो मोहित पारिहाल्थ्यो । सानोमा मेरा साथीहरु पनि खासै थिएनन् । जंगल, डाँडा, एकान्तमा बसेर बाँसुरी बजाउन रुचाउँथेँ । पानीमा खुट्टा डुबाएर खोलाकिनारमा टोलाइबस्नु झनै मन पर्थ्यो । यिनै एकलकाँटे स्वभावका कारण मलाई स्यान्टियागोको मनोदशा, ऐकान्तिक यात्रा र संघर्षले तानिरह्यो । सायद हरेक मानिसको एकान्तसँगै दया–करुणाको भाव जोडिएको हुन्छ ।

स्यान्टियागोका जीवनका उतारचढाव आख्यानमा उनिएर आयो । तर हामीसँग पनि एकरसता, नैराश्य, वैराग्य, एक्लोपनका कैयन घटनावली छन्, जसलाई असरल्ल छाडिआएका छौँ । यदि मिहिनेत गरी तिनलाई गाँसिदिने हो भने माला बन्छन् । सायद हामीसँग पनि अनन्त स्यान्टियागो लुकेर बसेका छन् । यही किताबको प्रभाव होला– कुनै खुसी या दुःखको क्षणलाई जीवनमालाको एउटा थुंगाको रुपमा मात्रै हेर्छु । त्यस क्षणलाई अन्तिम नठानेका कारण आफूलाई मात्तिन या आत्तिनबाट जोगाउन सक्छु ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: जेष्ठ ८, २०७६
via : साप्ताहिक

सम्बन्धित खवर