नेपथ्य संगीत समुह सग दुबैमा आगो लागाए नेपालीहरुले - दुबैमा पनि नेपालीपन - Khabar Nepali
  • बुधबार, जेठ २१, २०७७

नेपथ्य संगीत समुह सग दुबैमा आगो लागाए नेपालीहरुले – दुबैमा पनि नेपालीपन

नेपथ्य संगीत समुह अर्थात् नेपथ्य ब्याण्ड नेपालको चर्चित ब्याण्ड हो। यसका प्रमुख गायक अमृत गुरूङ हुन् । छेक्यो छेक्यो देउराली डाँडा देखि सा कर्नाली सम्मका चर्चित गीतहरू यो समुहले गाएको छ । लोक भाकाका गीतलाई त्यसको मेलोडी नमारी युवा पुस्ताले रूचाउने किसिमका पप शैलीमा गाउनु यो समुहको विशेषता हो ।

शुक्रबार बेलुकी यहाँ कन्सर्ट सकिने बित्तिकै नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो हाल्दै लेखेका थिए– ‘सबैभन्दा पहिले हामी……, धन्यवाद दुबई, माया र साथको लागि’

४० सेकेण्डको भिडियोमा एउटा गीतको अधुरो लाइन थियो जसलाई दर्शकहरुले पुरा गरिदिएको दृश्य देखिन्थ्यो ।

केहि समयदेखि नेपथ्यका कन्सर्टहरुमा सुनिँदै आएको त्यस गीतले भन्थ्यो– ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’

गीतका यी हरफहरुलाई अमृत सँगसँगै दर्शक भीँडले पनि गाएर साथ दिएको थियो ।

यसरी गीतले माहोल तताइरहेकै बेला बीचमा अमृतले चिच्याएर सोधेका थिए – ‘सबैभन्दा पहिले हामी……?’

जवाफमा २५ सय दर्शकले भरिएको हल गुञ्जिने गरि सबैले चिच्याएरै जवाफ दिइरहेका थिए– ‘नेपाली’

यो प्रश्नलाई अमृतले बारंबार दोहोर्याएर राखेका थिए । जवाफमा हरेकपटक अझ चर्को स्वरमा उही जवाफ दर्शकले फर्काइदिए ।

दुई घन्टा लामो कन्सर्टबाट त्यो भिडियो केहि सेकेण्डको भएता पनि सम्पूर्ण कन्सर्टको माहोल वर्णन गर्ने प्रतिनिधि दृश्य थियो त्यो । दुबइको ‘अल नासेर लिजर ल्याण्ड’ मा मञ्चमा बसेका कलाकार र दर्शकदिर्घा पुरै अवधिभर एकअर्काको समागममा जमेका थिए । अमृतले यसरी सामाजिक सञ्जालमा राखेको भिडियो केहि समयमै भाइरल बन्न पुग्यो र एक घन्टाभित्रै विश्वभर छरिएका दस हजार दर्शकले हेर्न भ्याइसकेका थिए भने सयौंले त्यसलाई सेयर पनि गरिदिए ।

नेपालीपनको भावनालाई यसरी बलियोसँग जगाइदिएका अमृतले त्यसबाहेक नेपाली डाँडाकाँडाहरुबाट संकलन गरिएका लोकधुनमा आधारित नेपथ्यका गीतहरुलाई क्रमैसँग गाएर सुनाएका थिए । सम्पूर्ण अवधिभर त्यसले दर्शकलाई उत्तेजित बनाइरहेको देखिन्थ्यो ।

‘मञ्चबाट हेर्दा हलभरिका दर्शक अनुहारमा जुन उत्साह र उमंग देखिरहेको थिएँ कन्सर्टमा उर्जा थप्नेगरि मलाई सबैभन्दा सन्तुष्टि त्यसैले दिइरहेको थियो,’ अमृतले भने, ‘यस्ता मायागर्ने दर्शक पाएकोमा हामी आफूलाई भाग्यमानी ठान्छौं ।’

दर्शकदिर्घामा आयुष मान डंगोल पनि देखिन्थे । उनी सारजहास्थित एयर अरेबियाका पाइलट हुन् । आयुषसँगै उनका ‘एयर होस्टेस’ साथी सुष्मिता ताम्राकार पनि थिइन् । नेपथ्यलाई बुधबार संयुक्त अरब इमिरेट्स पुर्याउने वायुयानमा उनीहरु दुवैजना उडान टोलीमा संलग्न थिए ।

‘दुबइमा नेपाली कार्यक्रमलाई खासै महत्वका साथ नहेरिनेगरेको अवस्थामा नेपथ्य यति उच्चस्तरमा प्रस्तुत हुँदा एक हिसाबले राष्ट्रिय गौरव जस्तै महशुस भएको छ,’ आयुषले भने, ‘यहाँ बस्दा आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने कमै मौका मिल्नेगरेकामा त्यस्तो दुर्लभ एक अवसर शुक्रबारको कन्सर्टले दिएकोमा खुशी छु ।’

आयुष बितेको तीन वर्षदेखि एयर अरेबियाको विमान उडाउँदै आइरहेका छन् भने सुष्मिताको एघार वर्ष बितिसकेको छ। कार्यक्रम अवधिभर तमाम दर्शकहरुजस्तै उनीहरु दुइजना पनि साथसाथै नाचिरहेका र गाइरहेका देखिन्थे ।

‘हलमा पस्नेबित्तिकै मलाई एकछिन त नेपालै पुगेजस्तो लागेको थियो । आफ्नै दुनियाँमा ब्यस्त रहँदा यहाँ बसिरहेका नेपाली दाजुभाइहरुसँग कमै जुर्ने भेटघाटको अवसर पनि यो कन्सर्टले दिएको थियो,’ आयुषले भने, ‘मैले जुन ब्याण्डका गीतहरु सुन्दै हुर्केको थिएँ त्यसलाई दुबइमा यस्तरी माया गरिएको देख्दा असाध्यै खुशी लाग्यो । रक कन्सर्टको निम्ति पनि धेरै मानिसले परिवारै लिएर आएको देख्दा यो ब्याण्डले जुनसुकै उमेर र वर्गका नेपालीलाई पनि कस्तरी प्रभाव पारेको रहेछ भन्ने पनि देखिँदै थियो ।’

कार्यक्रमको बेला अल नासेरको पार्किङ थलो कारले टनाटन भरिएको थियो । बहुसंख्य नेपाली मजदुरीको निम्ति आइपुग्ने भनेर चिनिएको यो थलो कसरी सम्पन्न नेपालीहरुले पनि भरिँदै जानलागेको छ भन्ने कुराको यसले संकेत गथ्र्यो ।

‘संयुक्त अरब इमिरेट्सभरि छरिएर रहनुभएका नेपालीहरुबाट प्राप्त माया र सद्भावका निम्ति हामी आभार प्रकट गर्दछौं,’ आयोजक कमिटिका सुजन राजाले भने, ‘अबुधाबी, सारजहाँ र रस अल खइमाजस्ता छेउछाउका राज्यहरुबाट पनि बस रिजर्भ गरेरै टनाटन दर्शक ओइरिएका थिए ।’

दुबइमा नेपथ्यको यो दोश्रो प्रस्तुती थियो । यसअघि सन् २०१५ को भुइँचालो लगत्तै पूर्वनिर्धारित कार्यक्रम भ्याउन आइपुगेको ब्याण्डले आफूलाई खुलेर प्रस्तुत गर्न सकेको थिएन ।

‘अघिल्लोपटक आउँदा हामी खुशीभन्दा पनि शोक बाँड्न र सक्दो सहयोग जुटाउने उद्देश्य मात्र बोकेर दुबइमा प्रस्तुत भएका थियौं,’ अमृत भन्छन्, ‘त्यसै थलोमा यसपाला खुशी, हर्ष र उल्लासको क्षण बिताउन पाउँदा आनन्द महशुस भएको छ ।’

दुइ घन्टासम्म लगातार चलेको कन्सर्ट राष्ट्रिय भावना र लोकलयमा आधारित आवाजहरुको मिश्रण थियो । शो अवधिमा ‘रेशम’ र ‘तालको पानी’ले जसरी दर्शकलाई उल्लासले बुरुक्क बुरुक्क उफारेको थियो त्यसैगरि ‘यो जिन्दगानी’, ‘मै मरि जाउँला’ र ‘कोशीको पानी’ले भावुक बनाएको थियो । त्यसपछि स्वदेश र आफ्नो समाजलाई सम्झाउँदै ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ले नेपालीपनको भावनासहित कन्सर्टलाई अन्तिम पाइन चढाएको थियो ।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

अष्ट्रेलियाको कन्सर्टबाटै हामीले फड्को मारेका हौं  : अमृत गुरुङ, गायक, नेपथ्य ब्याण्ड

अष्ट्रेलियाको श्रृंखलावद्ध प्रस्तुतीलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?

हामी जुन उत्साहका साथ अष्ट्रेलिया ओर्लिएका थियौं, त्यसमा सफल भएका छौं । अष्ट्रेलियाका मेलबर्न, एडिलेड तथा सिड्नी गरी तीन वटै शहरका कन्सर्टहरू अत्यन्त सफल तथा सुखद रहेका छन् । हामी अष्ट्रेलियाका नेपाली समुदायप्रति आभारी छौं ।

सिड्नीको पछिल्लो कन्सर्ट कस्तो रह्यो ?

नेपथ्यका लागि सिड्नी असाध्यै आत्मीय शहर रहँदै आएको छ । यो चौथो पटक थियो । हरेक पटक यहाँ बसोबास गर्ने नेपालीहरूले देखाएको मायाले त्यो अपनत्व अझ बढेको महसुस गराउँछ । प्रत्येक वर्ष नेपथ्यको उपस्थितीलाई सिड्नीवासीले आफैंमा उत्सवजस्तो मनाएको देख्दा आफु यस स्थानप्रति ऋणी बन्न पुगेको अनुभव गर्छु ।

अष्ट्रेलियालाई नेपथ्यले जहिले पनि प्राथमिकतामा राख्छ । किन होला ?

अष्ट्रेलियासंगको हाम्रो सम्बन्ध निकै प्रगाढ छ । अर्को शब्दमा भन्नु पर्दा नेपथ्यले अष्ट्रेलियाबाटै विदेशका कार्यक्रममा फड्को मारेको हो । हामीलाई पहिलो पटक सन् २००८ मा म्याग्दी समाजले अष्ट्रेलिया बोलाएको थियो । एउटा हलमा आयोजना भएको उक्त कार्यक्रमको टिकट नै सोल्ड आउट भएको थियो । त्यो पहिलो कार्यक्रम नै ऐतिहासिक रुपमा सफल भएकाले हामीलाई संसारभरी छरिएर रहनु भएका नेपालीहरूले कार्यक्रमका लागि बोलाउन थाल्नु भएको हो ।

अबको यात्रा कस्तो हुनेछ ?

अष्ट्रेलियाको तीनवटा सहरहरूमा श्रृंखलावद्ध प्रस्तुती बोकेर हिँडेको नेपथ्यले सिड्नी कन्सर्टसँगै यस वर्षको यो मुलुकको यात्रा सम्पन्न गरेको छ । अब भने हामी हाम्रो सांगीतिक जीवनकै पहिलो यात्राअन्तर्गत प्रशान्त महासागरकै अर्को महत्वपूर्ण मुलुक न्यूजिल्याण्डतर्फ जाँदैछौं ।

ब्याण्डसहित विदेशका कन्सर्टको सहभागिता कत्तिको सहज हुन्छ ?

बाद्यवादकसहित लाइभ कन्सर्ट दिनु आफैंमा गाह्रो काम हो । हाम्रो कन्सर्टमा म सहित ब्याण्डका सबै संगीतकर्मी सहभागी हुन्छौं । विदेशका कन्सर्टमा सामुहिक प्रस्तुती दिनु अझ चुनौतीपूर्ण कार्य हो । आफूसंगै वाद्ययन्त्र समेत लैजानु पर्ने हुनाले केही असहज त हुन्छ नै । यद्धपि नेपालयले सबै कुराको चाँजो–पाँजो मिलाउने भएकाले हामीले प्रस्तुतीमा मात्र ध्यान दिए पुग्छ ।

दुई वर्षअघि भूकम्प आउँदा पनि अष्ट्रेलियामै हुनुहुन्थ्यो नि हैन ?

हजुर, हामी त्यो बेला अष्ट्रेलियाका अधिकांश शहरका निर्धारित कार्यक्रम सम्पन्न गरेर अन्तिम प्रस्तुतीको तयारीमा थियौं । कन्सर्टको अघिल्लो दिन नेपालमा भूकम्प गएपछि हामीले अन्तिम कार्यक्रमको स्वरुप नै परिवर्तन गरेर भावनात्मक गीतहरू मात्र प्रस्तुत गर्‍यौं । कन्सर्टकै क्रममा हामीले त्यहाँको नेपाली समुदायसमक्ष भूकम्प पीडितका सहयोग गर्न आग्रह समेत गर्‍यौं ।

नेपथ्यको २५ वर्षे यात्रालाई कसरी मूल्यांकन गर्नु हुन्छ ?

फुर्सदमा कहिलेकाहिं हामी आफ्नै समुहको विगत नियाल्छौं । म एक्लै छँदा पनि यदाकदा हाम्रो २५ वर्षे यात्रा सम्झन्छु । प्रारम्भमा हामीले लहै लहैमा नेपथ्य ब्याण्ड स्थापना गरेका थियौं । प्रारम्भिक चरणमा गाएका गीतहरू लोकप्रिय भएपछि हामी केही सुस्त भयौं । तर साथीभाइको अनुरोध र सुझावका कारण उत्कृष्ट संगीत सिर्जनालाई निरन्तरता दियौं । अहिले आएर चाहिं संगीत पूजा भएको छ, साधना भएको छ । अब नमरुञ्जेल संगीत सिर्जनामै सक्रिय भैरहने निधो गरेका छौं ।

यो अवधिमा ब्याण्डमा संगीतकर्मी आउने–जाने क्रम कस्तो रह्यो ?

यो अवधिमा हाम्रो ब्याण्डमा १९ जना संगीतकर्मीको आउने–जाने क्रम भयो । सन् २००८ अर्थात विगत ९ वर्षदेखि भने हाम्रो समुहमा ६ जना संगीतकर्मीहरू सक्रिय छौं । अहिले ब्याण्डमा म लिड भोकलिष्टको रुपमा छु । ध्रुव लामा ड्रमसेटमा, सुरज थापा किबोर्डमा, निरज गुरुङ गितारमा, सुविन शाक्य बेस गिटारमा तथा शान्ति रायमाझी मादलमा सक्रिय छौं ।

नेपथ्यका प्रत्येक गीत लोकप्रिय हुने त्यस्तो के जादू चलाउनु हुन्छ ?

यो त स्रोताले हामीलाई दिनु भएको माया नै हो । हाम्रा गीतमा अलिकति नेपालीपन भएर पनि हो कि ? अलिकति लोक शैली पनि मिसाउँछौं । स्रोताले गीतमा अलिकति आफ्नोपन महसुस गर्न पाउनु हुन्छ । शायद यीनै कारणले हाम्रा गीतहरू चलेका हुन् कि ?

पछिल्ला पटक रेकर्डिङ गरिएका गीतहरू कस्ता छन् ?

हामीले २०१५ यता नयाँ गीत रेकर्ड गरेका छैनौं । त्यतिबेलै हामीले झन्डै एक दर्जन गीत रेकर्ड गराएका थियौं । अहिले पनि एक–एक वटा गरेर यूट्युबमार्फत ती गीतहरू सार्वजनिक गरिरहेका छौं ।

प्राय: यात्राको क्रममा कसरी गीत तयार पार्नु हुन्छ नि ?

म पैदल यात्रा गर्न मन पराउने मान्छे हुँ । प्रत्येक पटकको यात्राको क्रममा एक–दुई वटा गीत तयार पारिरहेकै हुन्छु । यात्राले स्थानीय जनजीवनलाई नजिकबाट बुझ्ने मौका प्रदान गर्छ । त्यो बुझाइले नयाँ गीत नै तयार भैदिन्छ ।

देश–विदेशको यात्रा गरिरहनु हुन्छ । सबैभन्दा मनपर्ने ठाउँ कुन हो ?

पोखरा । मैले संसारका धेरै ठाउँ देखें, तर पोखरा जस्तो सुन्दर र रमणीय ठाउँ कहिंपनि भेटिन् । पोखराको सौन्दर्य शब्दमा वर्णन गरेर साध्यै छैन ।

बाहिर बस्ने नेपाली समुदायबाट कस्तो प्रतिक्रिया पाउनु हुन्छ ?

हाम्रो ब्याण्डले झन्डै २८ वटा देशमा प्रस्तुती दिइसकेको छ । नेपाली समुदाय बाहिर भएका कारणले नै हामी कलाकारहरू विदेश जाने संगति प्रस्तुत गर्ने अवसर पाएका हौं ।

सम्बन्धित खवर